“मञ्चमा महिला“ कार्यशाला र मेरो अनुभव

WhatsApp Image 2019-09-16 at 15.39.46 (1)

 

धेरै समय अघिदेखि महिला सशक्तिकरणको नारा जताततै गुन्जेको सुनिन्थ्यो । यो नारा सँगसँगै महिला सशक्तिकरणको नाममा ठूलो बजेट खर्च भएकोे पनि सुनिन्थ्यो तर तालिमहरू भने बुनाइ, सिलाइ कटाइ, पेन्टिङ्ग, बुट्टा भर्ने आदि मात्र भएको पाइन्थ्यो । प्राथमिक तहका शिक्षिका, मोन्टेसोरी शिक्षिका वा नर्सको रुपमा मात्र महिलाहरू योग्य रहेको धारणा पनि रहेको पाइन्थ्यो । यस प्रकारका तालिम र शिक्षा मात्र महिलाहरूको लागि उपयुक्त छ भनी तय गर्नु पुरुष मानसिकताको महिला प्रति हेर्ने दृष्टिकोणको उपज हो । घरेलु काम गरिसकेपछि महिलाले यस्तै काम मात्र गर्न सक्छन् भन्ने उनीहरूको मान्यता कारण तथा नीति निर्माणका तहमा महिलाको पहुँच न्युन बनाइनुका कारण महिलाका आवाजको प्रतिनिधित्व कम भएको हो । हाल सम्म पनि महिला सशक्तिकरणको नाममा मौलाएका थुप्रै संघ संस्थाले महिलालाई यस्तै प्रकारका तालिम र कार्यशालाको आयोजना गरेको पाइन्छ । महिलाहरू अन्य कार्यमा पनि उत्तिकै उत्साहित र निपूर्ण हुन्छन् भन्ने कुरा ओझेलमै परिरहेको अवस्थामा लेखनमा रुचि भएका महिलाको लेखन क्षमताको विकास गर्न आयोजना गरिएको कार्यशाला “मञ्चमा महिला“मा सहभागी भएपछि लेखनमा आफू अझै सशक्त भएको महशुस भएको छ ।

प्रायः जसो लेखनमा रुचि भएका, रुचि भएर पनि निष्कृय रहेका तथा पहिले लेख्ने गरेर पनि छोडी बसेका  महिलाहरूलाई समेटेर गरिएको यो कार्यशाला मनोरञ्जनपूर्ण र खुल्ला वातावरणमा भएको थियो । यस कार्यशालामा विशेष गरी कविता विधालाई लिएर छलफल भएको थियो । यस्तो भएता पनि कार्यशाला लेखनका अन्य विधाको पूर्व तयारीका लागि समेत ज्यादै उपयोगी थियो । कार्यशालाका सहजकर्ता पनि तालिम प्राप्त, ज्यादै सहयोगी र प्यारा थिए । यो कार्यशालामा विभिन्न खेलको माध्यमबाट पनि लेखनमा प्रेरणा दिइएको थियो । रचनात्मक कार्य, समुहकार्य तथा खेल विधी, भ्रमण आदिले सहभागीहरू एक अर्कासँग घुलमिल हुने वातावरण थियो । कार्यशालाका सहभागी सबैमा अनौठो एकता, सौहाद्रता रहेको पाइन्थ्यो र सबै अत्यन्त उत्साहित देखिन्थे । लेख्नु भन्दा अघिको तयारी, आफ्नो मौलिकता आउने खालको सोच र अभ्यास पछि सबैलाई आफ्ना भावनाहरू लेख्न हतार भएको झैँ महशुस हुन्थ्यो । कार्यशाला पछि मनमा आएका कुन कुन विषयलाई लिएर लेख्न थाल्ने भनी हतार भएको कुरा सहभागी महिला मध्ये धेरैले बताए । मञ्चमा गएर भरसक बोल्नु नपरे हुन्थ्यो र बोल्नु परिहाले पनि हतार हतार भागिहाल्न पाए हुन्थ्यो भन्ने सहभागीलाई समेत यस कार्यशालाले अघि आएर बोल्न सक्ने बनाउनु अर्को ठूलो उपलब्धी हो ।

कार्यशालाका विभिन्न क्रियाकलाप मध्ये विगतका अविश्मरणीय घटनाहरूलाई ध्यान गर्दै सम्झँदै गरेपछि लेख्ने कला निकै मन पर्याे । वर्तमानमा कार्य व्यस्तताका कारण बिर्सिसकेका घटना पनि ताजा भएर आएको महशुस भयो । यिनै कुराहरू पनि लेखनका विषय बनाउन सक्छु भन्ने दृढता मनमा आयो । मानवीकरण गरी लेख्ने अर्को कला मेरा लागि नौलो र रोमाञ्चक भयो । कार्यशालामा अभ्यास गर्दा आफैँले गरेको रचना आफैँलाई मन परेको थियो । कार्यशालामा हामीले अरुका कविता पनि विश्लेषण गर्यौँ । यसो गर्दा हरेक सहभागीको फरक फरक बुझाइ आएको पाएँ र पछि आफूले पनि फरक फरक तरिकाले सोच्न थालेँ ।  सहभागीका रचना र प्रस्तुतिकरणका बारेमा प्रतिकृया दिने नयाँ तरिका पनि मन पर्यो । कार्यक्रमकै अन्तर्गत रहेको छायाँ सेन्टर स्थित फोटो काठमाडौँको भ्रमण पछि विगतमा महिलाहरूको दर्दनाक अवस्था र उनीहरूका अभिव्यक्तिले ज्यादै मन छोयो । त्यसपछि त आफूले देखे सुनेका र भोगेका विभिन्न विषयहरू नै मेरो लेखनका विषय हुन सक्छन् भन्ने जस्तो लाग्यो ।

महिलाहरू मात्र एकैसाथ बसी छलफल गरी गरी, लेखनका विविध पक्ष केलाउँदै, लेख्ने अभ्यास गरिएको शायदै यो पहिलो पटक हो । यस्ता कार्यशाला हरेक उमेर समुहका शिक्षित र अशिक्षित महिलाका माझ अझ धेरै गर्नुपर्ने रहेछ अनि मात्र महिलाहरूका आफ्नै सोच, कथा, व्यथा, अनुभवहरूको उजागर हुने रहेछ नत्र महिलाको बारेमा पुरुषहरूले लेखिदिएका  पक्षहरू नै हावी हुने रहेछन् जुन यथार्थ होइनन् ।

परापूर्व कालदेखि नै विशेष गरी ब्राम्हण पुरुष बर्गको लेखनमा बर्चस्व रहेको पाइन्छ । हाल सम्म पनि लेखनमा ज्यादै कम महिला मात्र सक्रिय रहेको पाइन्छ । घरायसी झन्झटिला काममा आफ्नो अमुल्य समय बिताउनु परेकाले महिलाले चाहेर पनि लेख्न सकिरहेका छैनन् । यही तीतो यथार्थलाई मनन् गर्दै वर्ड वरियर्स नेपालले लेखनमा महिलालाई अघि बढाएकोमा अत्यन्तै खुसी लागेको छ । महिलालाई चुलाचौका मै सिमित गर्ने पितृसत्तात्मक मानसिकतालाई तोड्न यस प्रकारको तालिम अपरिहार्य नै थियो । कार्यशालामा सहभागी महिलाहरूले लेखेका कविता छनौट गरी प्रकाशन गर्ने योजना रहेको कार्य झन् प्रशंसनीय छ ।

बैजयन्ती माला पोखरेल  काठमाडौँमा सन् २०१८मा भएको मञ्चमा महिला कार्यक्रममा सहभागी हुनु भएको थियो । पहिला देखि नै कविता लेख्न रुचि भएता पनि आफुलाई लेखक भनि हाल्न मन लाग्दैन तर आफुलाई स्कुलका देखि कलेज सम्मका विद्यार्थीलाई पढाउनु विभिन्न परियोजनामा पनि काम गर्नु भएको थियो ।

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners