नारायणीको डिम्पल

narayani

अस्ताँउदै गरेको सुर्य केहि सिथिल देखिन्छ, नारायणी नदीको कति बिग्न मुस्कान, मुस्कानसँग पर्ने कति धेरै डिम्पल। साँझको सुर्यले सिन्दुरी शाइन त्यो डिम्पलमा मिसाउँदा, सिंगो नदी सिन्दुरी हाँसो हाँस्छ र टिलपिल गर्न थाल्छ।

नारायणी सुसाउँदै मुस्कुराइरहेछ, यती लेखेर टोलाउँदैछु, एकजना भाइ स्यानो अपत्यारिलो बल्छी लिएर माछा मार्न खोजीरहेछ। त्यो अपत्यारिलो बालकले अपत्यारिलो बल्छीबाट अपत्यारिला स्याना स्याना दुई ओटा माछा मारी सकेर भन्छ, “भोटि माछा” र स्यानो बतलमा राख्छ। म अचम्मित पर्छु, किनकि उसको बल्छीमा माछा, सोचेको नै थिइन। जसरी आझको इनटेंसिभ वर्कसपमा अचम्मित भएको थिएँ, जब यस्तै उमेरका साना भाइबहिनीहरुबाट ठुला-ठुला कविता सुन्छु भनेर सोचेको नै थिइन।

नारायणी सुसाउँदै मुस्कुराइरहेछ, फेरी भाइ कराउँछ, अर्को माछा, यसपाली पालो सिद्राको थियो, माछा-मासु कहिले मुखमै नपारेकी कृति भन्दै थिइन “त्यो त तितो हुन्छ”, अनी निसब्द छटपटी रहेको माछाको बेदनामा टोलाई रहिन्। उज्वालाले भनिन “अस्तिको बाले त ठुलो माछा पारेका थिए भाइ, खतरा ठुलो थियो ” सुरुमा हामीसँग बोल्दै नबोलेको ऊ केहि समय पछि भन्छ, “त्यो लाखोरेले समातेको भएर होला, यस्तो स्यानो बल्छी बाट त, स्यानै माछा पर्छ ।” लाग्छ, कविता लेख्नु जस्तै माछा बल्छीमा पार्नु पनि एउटा कला नै हो । जो कोहीले बल्छी समातेर पानीमा राख्न सक्छ । जो कोही भावुक भएर कापी र कलम हातमा लिन सक्छ। तर कहिले काहीं ठुलो माछिको लागि लाखोरेनै चाहिन्छ, तर कहिले कहीं भावना खोज्नु पर्ने हुन्छ, त्यो कहिले हिजोको कुनै घटनाक्रममा लुकेर बसेको हुन्छ, त्यो कहिले कुनै संवाद जहाँ त्यति ध्यान दिइदैन त्यहाँ लुकेको हुन्छ। भावनालाई मुर्त रुप दिन कुनै ठोस घटनाक्रम चाहिन्छ। म लगायत मेरा इन्स्ट्रकटर साथीहरु यस्तै भावानालाइ मुर्त रुप दिने लाखोरे को नमुना लिएर चितवन आएका थियौं। म यो त भन्दिन की हाम्रो लाखोरे सिद्द र पुर्ण छ, तर यसले अमुर्त भावनालाइ स्पन्दन युक्त बनाइदिन्थ्यो।

नारायणी सुसाउँदै मुस्कुराइरहेछ, नारायणी भोलि पनि सुसेल्दै मुस्कुराइरहनेछ, अनि भोलि यस्तै तिता मिठा कविता सुन्नु छ, मेवार्ड, चाट, मिन्ट-वाला खर्बुजाको जुस, राज भोग, अनि अरु के के खानु छ, ठुलो हवाहुर्री संग स्यानो छाताको मद्दतले लडिबुडी खेल्दै युक्ता संग डिनर लिन जानु छ। जतिसुकै गर्मि भए पनि यहाँको खानेकुराले आत नै सुकाए पनि, जिब्रो भने निचोर्दिन्छ क्यारे, रशाई हाल्छ। पर्सी यहाँबाट फर्किनु छ। तर थोरै समयमा नै अर्कै खालको लगाव बनाउने, यहाँको ठाउँ हो कि यहाँका साना साना कवि, उमेरमा जसले पनि कविता लेख्न खोज्छ, तर उमेर बढ्दै जाँदा त्यो खुबी घट्दै जान्छ र बिलिन हुन्छ, अनि भन्छन्, “थाहा छ? म पनि बच्चामा कविता लेख्थें नि”, तर यी भाइबहिनीहरु बिलिन हुँदैनन्, किनकि यिनीहरुले जानिसके, कविता भनेको कविता मात्र हैन, आवाज हो । तिनीहरु मानौ गुम्सिएको भावनालाई आवाज दिँदै थिए, कोहि कम्पुटर स्क्रिनमा देखिने आमालाई बाहिर निकाल्न चाहान्थे, कोहि आफुलाई होस्टेल छोडेर आफ्नो अस्तित्व जनाउन केवल उपहार पठाउने बाबाको लागि भक्कानिदै कविता निकाल्थे । ती कविता थिएनन्, गुम्सिएका आवाज थिए, अनि यो त बस उनीहरुको सुरवात थियो । नारायणी सुसेल्दै आफ्नै भाषामा कविता भनिरहे जस्तो लाग्छ, उज्ज्वाला अलि पर गएर नारायणीको वहावसँग टोलाइरहेकी छिन्, कृति आफ्नै सुरमा गीत गाइरहेकी छिन्, म पनि कापी कलम बन्द गरेर त्यहि गीतमा आफ्नो बेसुरे आवाज मिसाइरहेछु।

एप्रिल २०, बेलुकी ५ बजे, अफिसको झ्याल बाट त्यही हाइवयेको बाटो नियाल्दैछु, जसले यस्तो ठाउँ पुराउछ, जहाँबाट अस्ताउँदै गरेको सुर्य केहि सिथिल देखिन्छ, नारायणी नदीको कति बिग्न मुस्कान देखिन्छ , मुस्कानसंगै पर्ने कति धेरै डिम्पल देखिन्छ। साँझको सुर्यले सिन्दुरी शाइन त्यो डिम्पलमा मिसाउँदा, सिंगो नदी सिन्दुरी हाँसो हास्छ र टिलपिल गर्न थाल्छ।

 

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners