दाङलाई सम्झदा…

आफ्नो कविता सौडियार विद्यालयमा प्रस्तुत गर्दै नवीन भुसाल ।

 

 

तपाईंले लंग टुरको गाडी सोच्नु भयो भने कस्तो गाडी सोच्नु हुन्छ ? चट्ट लामो, एसी भएको, भित्र निलो रिडीङ्ग लाइट बलेको, चार्जर भएको, सिट पनि मज्जाको, झ्याल सिट पर्नेले बाहिरको सिन् र बिचको सिट पर्नेले मदरासी फिल्म हेर्न मिल्ने खालको; यस्तै केही सोच्नु हुन्छ नि ?

हो, ठ्याक्कै यस्तै भन्दा दुरुस्तै उल्टो, भ्यागुतोजस्तो हरियो रङ्गको, सानो लोकल गाडीजस्तो, छिर्ने बित्तिकै सक्किने, सिट भए सिट नत्र मुडामा बस्नु पर्ने, झ्याल पर्नेलाई भोमिट गर्न मिल्ने र बिचमा बस्नेले घरी यता घरी उता गर्न मिल्ने, गियर बक्स धन्न ठीकठाक भएको गाडीमा चढेर मेरो “कावासोती टु दाङ”को यात्रा ल्याङ्ग पारामा सुरु भयो ।

करिब ६ घण्टाको यात्रापछी म घोराही पुगेँ । म पुग्नु पर्ने ‘होटेल माला इन्’ बाटोमा नै पर्ने भएकोले म एक्लै भएपनि खासै गाह्रो भने भएन । युक्ता दिदी, आक्रित ब्रो, सुरेन्द्र, रोनिका, निशा, दीपा अनि म गरेर जम्मा ७ जनाको टिम ‘घोराही स्ल्याम इन्ट्रो टुर’को लागि एक हप्ता खटिने वाला थियो । म बाहेक अरु सबै काठमाडौँबाट आउँदै हुनुहुन्थ्यो । होटेलमा पुग्ने पहिलो मान्छे म नै थिएँ ।

मैले त्यो टिममा नचिनेका मान्छे तीनजना मात्रै थिए; आक्रित ब्रो, रोनिका र निशा । नचिनेका मान्छेहरू कस्ता होलान् सोच्दै र भेट्नलाई उत्सुक हुदैँ म ‘होटेल माला इन्’को गेटबाट भित्र छिरेँ । जब म आफू बस्ने कोठामा पुगेँ तब मलाई एकदमै रमाइलो लाग्यो । मैले म चढ्ने गाडीमा खोजेको सबथोक त्यो कोठामा थियो – रिडीङ्ग लाइट, टिभी, वाईफाई, एसी, झ्यालबाट देखिने मज्जाको दृश्य, गज्जबको बेड ।  लाग्यो लंग टुर बल्ल सुरु हुदैँछ । त्यही बेलुका आक्रित ब्रो र युक्ता दिदी बाहेक हामी सबैको भेट भयो ।

त्यसको भोलिपल्ट कृष्णअष्टमी रहेछ, निशाको फेभरेट भगवान श्रीकृष्ण भएकाले हामी शिव मन्दिर गयौँ । हो, शिवमन्दिर ! सायद कृष्ण पनि तपाईंजस्तै छ्क्क परे होलान् त्यसबेला । हामी खोलाको बाटो हुँदै धारापानी पुग्यौँ । त्यहाँ विश्वकै सबैभन्दा ठूलो त्रिशुल रहेछ । त्यो बाटोमा हामीले हामी भित्रका धेरै मान्छे भेट्यौ – खोला तर्ने मान्छे, खोला तार्ने मान्छे, बुइ चड्ने मान्छे, कुनै विकल्प नदेखेपछि खाली खुट्टा मन्दिर पुग्ने संकल्प गर्ने मान्छे, ताण्डव चलाउने मान्छे, अम्बा चोर्ने मान्छे, उखु साहुसँग उखु चोर्छु है भनि अनुरोध गर्ने मान्छे । साच्चै हामीले त्यो दिन थुप्रै लीला रच्यौँ । त्यसैले पनि यो कृष्णअष्टमी मेरो लागि यादहरुको बैकुण्ठ हो ।

 IMG_2657

तेस्रो दिन मैले होटेलको अगाडि रोकेर राखेको ठुलो रातो गाडी देखेँ । बुक बसलाई म पहिलो पटक हेर्दै थिए । तब म चडेर आएको गाडी यसको अगाडि फट्याङ्रा नै लाग्यो । आक्रित ब्रो र युक्ता दिदी बुक बसमा आउनु भएको थियो । मैले पहिलोपटक आकृत ब्रोलाई देख्दा उहाँमा शिवजी देखेँ किनकी उहाँको हासो ‘लाइफ ओके’मा आउने शिवजीको जस्तै थियो ।

 

बुक बसको पाईलट दल्हांग दाइ हुनुहुँदो रहेछ । मलाई लाग्यो, दल्हांग दाइ भन्नु नै बुक बस हो र बुक बस भन्नु नै दल्हांग दाइ हो । अब दाङको घोराही भरी घुमाउने जिम्मा दल्हांग दाइको थियो । दसवटा स्कुलमा हामी बुक बस भित्र चढेर, कविता सुनाउँदै हिड्न थाल्यौँ ।

गफाडी र कवि, कान भेट्यो भने खुशी हुन्छन् । म पनि खुशी थिएँ । मेरो पहिलो टुर भएर पनि होला मलाई एकदमै मज्जा लागिरहेको थियो । त्यसमाथि झन् नौ र दस कक्षाका भाइबहिनीहरूको उत्साह र सरहरूको हौसलाले ममा जोश थपिरहेको थियो । “दाई हजुरको नाम के हो नि ?”, “कविताचाहिँ बबाल है, दाइ”, “र्याप पनि भन्न पाम्चम र दाजु ?”, “त्यो रातो गाडीको कति पर्छ नि ?” यस्तै थुप्रै प्रश्नहरुले मलाई एक पटक सोच्न वाध्य बनायो कि साँच्चै कवितामा कति शक्ति छ ? कहाँको मान्छे म, कहाँ आएर, कसलाई यी उत्तर दिँदैछु । तर सबैभन्दा बढी प्रश्न रातो गाडीको बारेमा थियो । मजस्तै सबै विद्यार्थी र स्थानीय ट्वाल्ल परेर हेर्थे ।

बुक बसले जति किताब बोकेको छ, त्यो भन्दा धेरै यादहरू हामीलाई बोकाएको छ । बुक बसको डिब्बा भित्रको गर्मीले पकौडा बनेका हामीले खाएको पकौडा, बुक बस देखेर चिच्च्याउने साना बच्चाबच्चीहरू, गीत गाउदै चिच्च्याउने हामी; मानसपटलमा घुमिरहने यादहरू हुन् ।

 

राग-युक्त रोनिका, सुर-भस्म सुरेन्द्र र मठ्ठ ‘म’को ताल्मेलले ताल बिगार्न खुब सजिलो भयो । निशाको ‘म्युजिकल्ली’को नशामा गाडी पनि घरीघरी हल्लिरहन्थ्यो । त्यो गाडीमा मैले चिनेका मान्छेलाई अझ राम्ररी चिनेँ, नचिनेका मान्छे राम्रो साथी भए । सायद जिन्दगी यात्रा नै हो; मान्छे चिन्ने र मान्छे बनाउने ।  

तर यो यात्राले विश्राम खोजिरहेको थियो । मेरो कलेज सुरु भइसकेकोले मैले दाङ छोडेर हिंड्ने बेला आइसकेको थियो । त्यसैले गर्दा मैले दाङको कविता सुन्न नपाउने भए । नौ महिनाको बच्चालाई पेटमा छोडेर एउटा बाबु बच्चा देख्न नपाई परदेश गए जसरी, म पनि दाङ छोडेर काठमाडौँ आउनुपर्दा भित्र कतै एकदमै नरमाइलो लगिरहेको थियो ।

मलाई यी नयाँ यादहरू बोकेर फेरि लंग टुर गर्नु थियो । गाडी हल्लँदा यादहरू नउछीट्टीउन् भनेर मैले पहिलेको भन्दा राम्रो डिलक्स गाडी बुक गरे जसमा सबै कुरा भने जसरी अटेको थियो । अनि मनको झोला भरी पोको पारी राखेको थिएँ दल्हांग दाइ अनि दाङका याद ।

 

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners