कक्षाकोठादेखि कक्षाकोठासम्म

Some glimpses of the three-week long intensive  spoken word poetry instructor training.

-निसा कार्की

रत्नपार्कबाट समातेको बस जाउलाखेलमा पुगेर रोकियो । मेरो गन्तव्यलाई भेट्न गाडिले पुर्याउन सक्ने भनेको त्यहीँसम्म थियो; अरुसङ्गै त्यहाँ म पनि उत्रिए । शनिवार भएर होला चिडियाखानातिर मोडिदै गरेका पाइलाहरुको भिड अरुबेला भन्दा अलि धेरै नै थियो । म भने सिधै सधैँझैँ एकान्तकुनाको बाटोतिर लागे । थोरै मात्र अघि बढिसकेपछी पछाडीबाट कसैले काँधमा हात राखी बोलाएझैँ लाग्यो । पछाडी फर्केर हेर्दा सारस दाइ छेउमा आएर उभिन भ्याइसक्नु भएको थियो । सधैँ छिट्टै पुग्ने उहाँलाई देखेर ढुक्क भएँ – कहिल्यै समयमा पुग्न नसकेकी म पनि आज छिटो भएछु । कहिले जाम त कहिले घरको कामले अल्झाउथे । तर आज एक महिने लामो वर्ड वारिअर्सको  कार्यशालाको अन्तिम दिन भनेर होला दुबैले छुट दिएका ।

 

हामी किहोतेज कोवको भेला हुने कोठामा पुग्दा त्यहाँ पल्लवी र युक्ता दिदी मात्र आइपुग्नुभएको थियो । तब अरुलाई पर्खनुको विकल्प अरु केही रमाइला कुरा पनि हुन सक्थ्यो कि ! तर हामी मोबाइलको किराहरु पर्खिने बहानामा वाइफाइ चलाउन थाल्यौँ । केही समयपछी नसला दिदी पनि आउनुभयो । युक्ता दिदी र नसला दिदी मिलेर हामीलाई इन्स्ट्रक्टर (प्रशिक्षक) तालिम दिदै हुनु हुन्थ्यो । उहाँहरु सारै मिजासिलो हुनुभएर होला हामीलाई नयाँ कुराहरु सिक्न र नयाँ साथीहरुसँग घुलमिल हुन त्यस्तो अफ्ट्यारो भने परेन । संसारको त ख्याल नै नहुने कवितामा हराएपछी ! संसारलाई पछाडी छोडी आफू नयाँ संसारमा मस्त भइन्छ । म सोच्थेँ, मानिसले स्वर्ग भन्ने ठाउँ यस्तै बेला कल्पनामा कोरेको हुनुपर्छ । म स्वर्ग कवितामै भेटाउने भएर होला सायद कविको भिडमा नै मलाई त्यस्तो लाग्थ्यो । फरक सोचका फरक मानिसको स्वर्ग त्यसैले त फरक हुन्छ । बिस्तारै सबै आइसकेपछी हाम्रो अन्तिम क्लासको सुरुवात लेखन कार्यबाट भयो ।

 

कवितामा केन्द्रित तालिम भएको हुनाले कविताको बारेमा सिक्न इच्छुक कविहरुका लागि यो एकदमै राम्रो अवसर थियो । कविता भनेपछि हुरुक्कै हुने मैले पनि यो अवसर गुमाउन चाहिन । डिसेम्बर २३ देखि एक महिनाको लागि हरेक मंगलबार र शनिवारको पुरै समय मैले यो कार्यशालाको लागि दिएँ । कविता आफूमा सबै हुन त राम्रा नै लाग्छन्, तर राम्रा कवितालाई अझै सिंगार्न मैले यो वर्कशपबाट सिक्न पाएँ । रुपक, उपमा र अनुप्रास जस्ता कुरालाई कवितामा ढाले पछी आफ्नै कवितामा देखिएको भिन्नता हेरेर म मख्खै परे । त्यसमा झन् मिठास थप्ने काम गर्यो सेन्सरी डिटेल अथवा संवेदी विवरणले । हाम्रो यो तालिमको उदेश्य भनेको मात्र आफू सिकेर आफूमै सिमित राख्ने थिएन । विभिन्न ठाउँमा गएर अरुलाई पनि कविता लेख्न प्रेरित गर्ने हाम्रो चाहाना भएकाले कविता सँगसँगै मैले कक्षाकोठालाई कसरी अझ रमाइलो र राम्रो बनाउन सकिन्छ भन्ने नि सिकेँ ।  त्यो वातावरणमा नै म एक छुट्टै सकरात्मक अनुभूति पाउथेँ । सबै आफ्नै जस्ता लाग्ने भएर पनि होला मन सारै आनन्दित महसुस गर्थ्यो ।

 

अन्तिम घडीमा पुगेर मेरो मानसपटलमा विद्यालयका केही यादहरु रुमल्लिन थाले – जस्तो कि जब एक मिनेट नबित्दै घडी भिरेको साथीलाई १० चोटी सोधिन्थ्यो, ” अब कति मिनेट बाँकी छ ? ” ।  तब ४५ मिनेटको क्लास पनि कतिखेर सकिन्छ र यो निसासिएको ज्यानलाई आनन्दको लामो सास लिन दिउँ भन्ने भावले त्यही प्रश्न दिनमा हजार चोटी गर्न ओठलाई जोड दिन्थ्यो, पालेदाइले समय भएपछी त घन्टी बजाइहाल्नु हुन्छ नि भन्ने थाहा हुँदा हुँदै पनि !  तर आज पुरै दिन बिताउँदा पनि मनमा कवितालाई अझै नजिकबाट चिनौ न भन्ने सोचले समयलाई नै बाधेर राख्न खोजेको छ । त्यसैले पनि मानिसहरु भन्दा हुन् – तिम्रो जे मन छ त्यही पढ, तिमीलाई कहिल्यै पढाइ भार लाग्ने छैन । त्यस्तै मेरो लागि कविता, कहिल्यै अल्छी लाग्दो कुरा बन्न पुगेन । तर यो एक महिनाको तालिम सकिँदैमा कविताको बारे अझै सिक्ने अवधि सकिएको होइन । हामी अरु थुप्रै कविताप्रेमीहरुसँग भेटेर केही सिकाउने छौ र अझै धेरै कुरा सिक्दै जाने छौ ।

 

जय कविता !!!

 

Contact Information

content-img

Contact us for any further information or support

Word warriors

Address: Quixote's Cove, Ekantakuna, Lalitpur

Phone: +977-01-5536974

Email: wordwarriorsnepal@gmail.com

our Partners